पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द
काठमाडौं । पृथ्वी राजमार्गको विभिन्न खण्डमा सडक मर्मत तथा निर्माण कार्यका लागि शनिबारदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार राजमार्गको घोप्टेभिरलगायतका क्षेत्रमा सडक निर्माण तथा मर्मत कार्य गर्न बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन रोक्न लागिएको हो। अर्को सूचना जारी नभएसम्म उक्त व्यवस्था लागू रहने उनले बताए।
निर्माण कार्यका क्रममा पोखरातर्फबाट आउने सवारीसाधनलाई आँबुखैरेनीमा रोकिनेछ। नारायणगढ हुँदै आउने सवारीलाई जुगेडी र आँपटारीमा रोक्ने व्यवस्था मिलाइने प्रहरीले जनाएको छ। केही सवारीसाधनलाई रमाइलो डाँडामा समेत रोकिनेछ।
मुग्लिन बजार क्षेत्रमा भने सवारी आवागमन नियमित रहने जनाइएको छ।
सडक निर्माणको काम सम्पन्न नभएसम्म दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएकाले यात्रु तथा सवारी चालकलाई यात्रा व्यवस्थापन गर्न प्रहरीले आग्रह गरेको छ।
