मधेशमा सरकार गठनका लागि समय थप्न तीन दलको आग्रह
जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने समय थप गर्न नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले प्रदेश प्रमुखसमक्ष आग्रह गरेका छन्।
संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि तोकिएको समयसीमा सकिन लाग्दा तीन दलका नेताहरूले थप समय माग्दै प्रदेश प्रमुखसमक्ष पुगेका हुन्।
कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेकपा संसदीय दलका नेता युवराज भट्टराई प्रदेश प्रमुखको कार्यालय पुगेर समय थप गर्न आग्रह गरेका हुन्।
तीन दलका नेताहरूले आपसी छलफल जारी रहेको भन्दै संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेश गर्ने समय थप गर्न अनुरोध गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयले आज अपराह्न ४ बजेसम्म सरकार गठनका लागि दाबी पेश गर्ने समय दिएको थियो। तर, सहमति जुटाउन नसकेपछि समयसीमा सकिनै लाग्दा थप समय माग गरिएको हो।
