प्रदेश र स्थानीय तहको निर्वाचन एकैसाथ गर्नेबारे आयोगमा छलफल
काठमाडौं । प्रदेश र स्थानीय तहको निर्वाचन एकैसाथ गर्ने वा छुट्टाछुट्टै गराउने विषयमा निर्वाचन आयोग र राजनीतिक दलका नेताहरूबीच छलफल भएको छ।
शुक्रबार निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलका शीर्ष नेताहरूसँग गरेको छलफलमा दुवै निर्वाचन एकै समयमा गर्ने सम्भावना र त्यसका फाइदा तथा बेफाइदाबारे बहस भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले जानकारी दिए।
उनका अनुसार आयोगले मतदाता नामावली अद्यावधिक लगायत निर्वाचन तयारीका कामबारे दलहरूलाई जानकारी गराएको थियो। स्थानीय तह र प्रदेशको निर्वाचन एकै समयमा गर्न सकिने वा नसकिने विषयमा दलहरूबीच प्रारम्भिक छलफल भएको उनले बताए।
खरेलका अनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ। त्यसअघि नै निर्वाचन गर्नुपर्ने अवस्था छ भने प्रदेश निर्वाचन मंसिरको पहिलो साता गर्नुपर्ने समयसीमा रहेको छ।
दुवै निर्वाचन एकैसाथ गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्रमा समेत छलफल हुने उनले बताए।
निर्वाचन आयोग, राजनीतिक दल, सरकार तथा अन्य सरोकारवालाबीच थप छलफल गरेर मात्रै यसबारे निष्कर्षमा पुगिने खरेलको भनाइ छ। शुक्रबारको छलफल प्रारम्भिक चरणको भएकाले यसबाट रास्वपाको आधिकारिक धारणा तय भइनसकेको उनले स्पष्ट पारे।
