सरकारलाई गगनको चेतावनी– पत्रकार पक्राउ प्रकरणले शाहीकालको याद दिलायो, कांग्रेसले प्रतिरोध गर्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पत्रकार पक्राउ प्रकरणलाई लिएर सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन् । समाचार लेखेकै आधारमा सञ्चारगृहभित्र प्रवेश गरेर पत्रकार पक्राउ गर्ने सरकारी कदमले शाही शासनकालको झल्को दिएको भन्दै उनले कांग्रेसले यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष सम्बोधन गर्दै थापाले लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रतामाथि सरकारले सीमा नाघेको आरोप लगाए । उनले पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र प्रहरीको गतिविधि शङ्कास्पद देखिएको टिप्पणी गरे ।

उनका अनुसार सुरुमा प्रहरीले पत्रकार पक्राउ गरेपछि प्रधानमन्त्रीको सचिवालयले घटनाबारे आफूहरूलाई जानकारी नभएको प्रतिक्रिया दिएको थियो । तर, प्रहरीले मध्यराति प्रधानमन्त्री कार्यालयको चासो सम्बोधन गर्न पत्रकार पक्राउ गरिएको बताएको र शनिबार बिहान उक्त वक्तव्यसमेत हटाइएको उनले उल्लेख गरे ।

त्यसैगरी प्रधानमन्त्रीको सचिवालयबाट २८ जना पत्रकारको सूची तयार गरी प्रहरीलाई पठाइएको विषय बाहिर आएको भन्दै थापाले सरकारको भूमिकामाथि प्रश्न उठाए ।

‘पत्रकार पक्राउ परे, छुटे, अब सकियो भन्ने होइन । यतिमै विषय सकिँदैन र सकिनु पनि हुँदैन भन्ने कांग्रेसको स्पष्ट धारणा छ,’ उनले भने, ‘यसले सरकारले राज्य, नागरिक अधिकार र प्रेस स्वतन्त्रतालाई कसरी बुझेको छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ ।’

प्रहरी आफैँले निर्णय गरेर सञ्चारगृहमा प्रवेश गरी पत्रकार पक्राउ नगरेको दाबी गर्दै थापाले सत्तामा रहेकाहरूको सनक र सामाजिक सञ्जालको प्रतिक्रियाका आधारमा राज्य सञ्चालन गर्न खोजिएको आरोप लगाए ।

उनले व्यङ्ग्यात्मक शैलीमा केही व्यक्तिले समाचार हेरेर पत्रकार पक्राउ गर्न निर्देशन दिने र सामाजिक सञ्जालमा प्रतिक्रिया घटेपछि छाड्न आदेश दिने प्रवृत्ति देखिएको टिप्पणी गरे ।

सरकारमा रहेका व्यक्तिहरूमा आफूहरू नै राज्य भएको र आफूले चाहेको कुरा नै कानुन हुने अहङ्कार देखिएको थापाको आरोप छ ।

‘हामीले बोलेको कुरा हुकुम हुन्छ भन्ने ठानेर राज्यका निकाय र शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको छ । सरकारमा बसेकाहरूलाई मेरो इच्छा नै कानुन हो भन्ने लाग्न थालेपछि समस्या सुरु हुन्छ,’ उनले भने ।

यस्तो प्रवृत्तिलाई सामान्य रूपमा लिन नसकिने उल्लेख गर्दै थापाले सरकारको कार्यशैलीविरुद्ध कांग्रेसले राजनीतिक तथा लोकतान्त्रिक रूपमा प्रतिरोध गर्ने स्पष्ट पारे ।