जर्मनीमा जेनजी आन्दोलन हिंसात्मक, विभिन्न सहरमा झडप र लुटपाट
काठमाडौं । जर्मनीमा महँगी र सरकारी नीतिको विरोधमा सुरु भएको जेनजी (जेन जेड) आन्दोलन हिंसात्मक बनेको छ । प्रदर्शनका क्रममा विभिन्न सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुनुका साथै पसलमा लुटपाटका घटना भएका छन् ।
शनिबार राति जर्मनीको आर्थिक राजधानी फ्र्याङ्कफर्टमा प्रदर्शनकारीले पसलमा लुटपाट गरेका थिए भने प्रहरीसँग पनि झडप भएको थियो । बर्लिन, कोलोन, ह्याम्बर्ग र म्युनिखलगायत सहरमा समेत तनावपूर्ण अवस्था सिर्जना भएको समाचारमा जनाइएको छ ।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो । प्रदर्शनकारीले आपत्कालीन सेवाका कर्मचारीमाथि समेत पटाका, ढुंगा र बोतल प्रहार गरेका थिए । प्रहरीले फ्र्याङ्कफर्टका विभिन्न स्थानबाट धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ ।
‘जेनजी रेगेल्ट’ नामक अभियान समूहको ब्यानरमा हजारौँ युवाले प्रदर्शनमा सहभागिता जनाएका थिए । जर्मन भाषामा यसको अर्थ ‘अब जेनजीले जिम्मेवारी लिनेछन्’ भन्ने हुन्छ ।
विद्यालयमा सरकारी लगानी कटौती, बढ्दो जीवनयापन खर्च, सरकारी खर्चमा कटौती तथा अनिवार्य सैन्य सेवाको विरोध गर्दै युवाहरू सडकमा उत्रिएका हुन् ।
प्रहरीका अनुसार फ्र्याङ्कफर्ट, म्युनिख र बर्लिनमा गरी करिब १८ हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए । यो संख्या आयोजकले आफ्नो वेबसाइटमा उल्लेख गरेको अनुमानभन्दा झन्डै आधा हो ।
अभियानकी प्रवक्ता लेना फ्रेडरिकले आन्दोलनको उद्देश्य युद्ध र जबर्जस्तीको सट्टा शान्ति तथा स्वतन्त्रताका पक्षमा आवाज उठाउनु रहेको बताएकी छन् । उनले गुणस्तरीय स्वास्थ्य र शिक्षा प्रणाली तथा अनिवार्य सैन्य सेवाको अन्त्य आन्दोलनका प्रमुख माग भएको बताइन् ।
फ्रान्समा भएको प्रदर्शनपछि जर्मनीमा पनि युवाहरूले आन्दोलन सुरु गरेका हुन् । फ्रान्समा शनिबार तीन लाख २० हजारभन्दा बढी मानिसले प्रदर्शन गरेको समाचारमा उल्लेख छ ।
बीबीसीका अनुसार जर्मनीमा दिनभर प्रदर्शन अधिकांश समय शान्तिपूर्ण रहे पनि रात पर्दै जाँदा हिंसात्मक बनेको थियो ।
