गगनले कांग्रेस फुटाइसकेको निधीको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले पार्टी सभापति गगन थापाले कांग्रेसलाई फुटाइसकेको आरोप लगाएका छन्।

जनकपुर पुगेका निधीले विशेष महाधिवेशन आयोजना गर्नेहरूले नै पार्टी विभाजनको अवस्था सिर्जना गरेको दाबी गरे। उनले कानुनी रूपमा पार्टी नफुटे पनि व्यावहारिक र राजनीतिक रूपमा कांग्रेस विभाजित भइसकेको बताए।

निधीले विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी नभएको दाबी गर्दै ४० प्रतिशत प्रतिनिधिलाई विशेष महाधिवेशन माग गर्ने अधिकार भए पनि निर्णय गर्ने अधिकार नभएको जिकिर गरे।

उनका अनुसार विशेष महाधिवेशन बोलाउने विषयमा केन्द्रीय समितिले निर्णय गर्नुपर्ने भए पनि गगन थापा र विश्वप्रकाश शर्माले आफूखुसी निर्णय गरेको उनको आरोप छ।

‘४० प्रतिशतलाई महाधिवेशन माग गर्ने अधिकार छ। तर निर्णय गर्ने अधिकार छैन। निर्णय गर्ने अधिकार केन्द्रीय समितिको हो,’ निधीले भने, ‘गगन थापा या विश्वप्रकाशजीले जे चाहिरहेका थिए, त्यो सबै आफैँले घोषणा गरिदिए। केन्द्रीय समितिले निर्णय नै गरेन, त्यसैले प्रक्रिया भएन।’

निधीले सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पुनरवलोकनका लागि निवेदन दिएर निस्सा पाएपछि मुद्दाको अन्तिम फैसला आउन समय लाग्न सक्ने बताए।

उनले आगामी मंसिर २१ गतेदेखि हुने भनिएको कांग्रेसको महाधिवेशन भने अवैध नभएको दाबी गरे।