बद्री पंगेनीको ‘झ्याप्पै’ तीन महिनामै २ करोड भ्युज पार

काठमाडौँ । लोकदोहोरी गायक बद्री पंगेनीको गीत झ्याप्पैले युट्युबमा २ करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको तीन महिनामै गीतले यस्तो उपलब्धि हासिल गरेको हो।

गीतमा पंगेनीसँगै गायिका ज्योति मगरको स्वर रहेको छ। नारायण ज्ञवालीको शब्द र स्वयं पंगेनीकै संगीतमा तयार भएको यो गीत रमाइलो लोकदोहोरी शैलीमा प्रस्तुत गरिएको छ।

सार्वजनिक भएसँगै गीत टिकटक र रिल्समा भाइरल बनेको थियो, जसले यसको लोकप्रियता थप बढाएको देखिन्छ।

गीतले फरक समुदायबीचको प्रेम कथा प्रस्तुत गर्दै जातीय विभेदभन्दा माथि उठेर प्रेम गर्नुपर्ने सन्देश दिन्छ।

गीतको भिडियो पनि पंगेनीकै कथा तथा निर्देशनमा बनेको हो। भिडियोमा आरूषि मगर र सुरेश कोहलीले अभिनय तथा नृत्य गरेका छन्। नृत्य निर्देशन एबी वाग्लेले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन मनोज कार्कीले गरेका छन्।