चुनावी हारपछि प्रचण्ड–माधवलाई राजीनामा दिन युवाको दबाब, तेस्रो पुस्तालाई नेतृत्व दिन माग

काठमाडौं । नेकपाभित्र चुनावी पराजयपछि नेतृत्व परिवर्तनको आवाज चर्किएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई जिम्मेवारी लिएर पद त्याग गर्न युवा नेताहरूले माग गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जनसंगठनका इन्चार्ज तथा पदाधिकारीहरूसँग भएको छलफलमा सहभागी युवाहरूले अबको प्रतिस्पर्धा नयाँ पुस्ताले मात्रै गर्न सक्ने बताएका हुन्। उनीहरूले बालेन शाहजस्ता नयाँ नेतृत्वसँग प्रतिस्पर्धा गर्न तेस्रो पुस्तालाई अघि सार्नुपर्नेमा जोड दिएका छन्।

बैठकमा वाइसिएल अध्यक्ष पुष्प ओली, अखिल क्रान्तिकारीका उपाध्यक्ष विराज थापालगायतले शीर्ष नेताको योगदानको सम्मान गर्दै नेतृत्व हस्तान्तरण आवश्यक रहेको धारणा राखेका थिए।

केही सहभागीहरूले प्रचण्डलाई सानो पार्टीको नेताभन्दा माथि उठेर राष्ट्रको अभिभावकको भूमिका निर्वाह गर्न सुझाव दिएका थिए। साथै, संसदीय दलको नेतृत्व पनि अब युवालाई दिनुपर्ने प्रस्ताव अघि सारिएको छ।

सल्यान, रुकुम पश्चिम र सिन्धुपाल्चोकबाट निर्वाचित युवा नेताहरू—रमेश मल्ल, गोपाल शर्मा र युवराज दुलालमध्येबाट दलको नेता, उपनेता तथा प्रमुख सचेतक चयन गर्नुपर्ने सुझाव बैठकमा आएको बताइएको छ।

त्यसैगरी, छिटो महाधिवेशन गरेर तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न, जम्बो केन्द्रीय समिति सानो र प्रभावकारी बनाउन तथा निष्क्रिय कार्यकर्ताको पहिचान गरी संगठन सुदृढ गर्नुपर्ने माग पनि उठाइएको छ।