गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ तर्क

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्न सातवटा तर्क अघि सारेका छन्।

पार्टी केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिएको दस्तावेजमा शर्माले ‘छुट्टै शीर्षक’ अन्तर्गत राजीनामा अस्वीकृत गर्नु उचित हुने आधार प्रस्तुत गरेका हुन्।

उनका अनुसार, नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेको छोटो अवधिमा पूर्ण मूल्यांकन गर्नु उचित हुँदैन। उनले राजनीतिमा ‘हनिमुन पिरियड’ अर्थात् सुरुआती सय दिनलाई ‘वार्मअप’ समयका रूपमा लिने अभ्यास रहेको उल्लेख गरेका छन्।

शर्माले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई जम्मा ५० दिनमै नतिजाको पूर्ण मूल्यांकन गर्नु न त युक्तिसंगत हुन्छ, न त व्यक्तिप्रति न्याय हुने बताएका छन्। साथै, चुनौतीपूर्ण परिस्थितिमा पार्टीलाई अनुकूल दिशातर्फ लैजाने जिम्मेवारी छोडेर सभापतिले राजीनामा दिनु संगठनका लागि पनि उपयुक्त नहुने तर्क उनले अघि सारे।

यद्यपि, सभापतिले लिएको नैतिक जिम्मेवारीको भावनालाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै शर्माले पार्टीलाई अहिलेको परिस्थितिबाट उकास्ने प्रमुख दायित्व पनि सभापतिकै काँधमा रहेको बताएका छन्।

यस आधारमा उनले गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्।

१) नेपाली कांग्रेस निर्वाचनमा पहिलो दलका रूपमा विजयी बन्न सकेन । तर सन्तोष मान्नुपर्छ कांग्रेसले अपनाएको मुल नितिको विजय भएको छ ।

कांग्रेसले अंगिकार गरेको राजनैतिक र आर्थिक नितिका पछिल्तिर पुराना/नयाँ सबै दल उभिन आइपुगेका छन् । वर्तमान संविधान, संसदीय प्रणाली, संघीयता र सामाजिक न्याय सहितको उदार अर्थब्यबस्था अबको नेपालमा सबैको साझा मुलमार्ग बन्न पुगेको छ ।

२) नेपाली कांग्रेस प्रतिनिधिसभामा पहिलो दल बनेन, तर दोस्रो दल बनिरहँदा एक संयमित र जिम्मेवार राजनैतिक दल देशको संसदले जिम्मेवार प्रतिपक्षका रूपमा पाएको छ ।

प्रतिपक्षी बेन्च जिम्मेवार ढंगले प्रस्तुत हुँदा त्यसले एकातर्फ लोकतान्त्रिक पद्धतिको सुदृढीकरणलाई बल पुग्छ, अर्कातर्फ समुन्नतिको गतिलाई सकारात्मक साथ पुग्नेछ । राम्रा कुरालाई साथ, खराबीमा खरो विमती कांग्रेसको रहनेछ ।

३) पराजय हुँदा पनि देशभर पार्टीपंक्ति हल्लिएको छैन । दृढ ढंगले अघि बढेर नयाँ परिस्थितिको विकास गर्न सकिन्छ भन्ने उर्जा आम पार्टी सदस्यमा देखिएको छ। यो अत्यन्तै सकारात्मक छ ।

४) विशेष महाधिवेशन मार्फत परिवर्तनको सन्देश लिएर नगएको भए, चुनावमा उर्जाका साथ खट्न सकिने थिएन र यो भन्दा खराब अवस्था आउने थियो ।

अतः पराजय व्यहोरेको भएपनि विशेष महाधिवेशनले नवीन रक्तसञ्चार गरेको थियो भन्नेमा देशभर आम पार्टी सदस्यको अव्यक्त मनोबिज्ञान र व्यक्त धारणा पाइएको छ ।

५) प्रतिकूल अवस्थाबीच चुनावमा जाँदा परिणाम अनुकूल नआउनु अनौठो होईन । तर परिवर्तनको सन्देशले पार्टी पंक्तिमा उर्जा भरेका कारण पार्टी शून्य परिणामको दुर्दशा र चरम निराशामा पुग्नबाट जोगिएको अभिमत पार्टीका शुभेच्छुक बौद्धिक क्षेत्रमा देखिएको छ ।

पार्टीलाई नयाँ योजनाका साथ अघि बढाउन बौद्धिक क्षेत्रको यो समीक्षा र शुभभाव हाम्रो आगामी यात्राका लागि प्रेरक रहनेछ ।

६) उसबेला विशेष महाधिवेशनसँग असहमत रहेपनि निर्वाचन पश्चात् अहिले त्यसभित्रको ठूलो पक्तिमा ‘पार्टी पछि फर्किनुहुन्न, अघि बढ्नुपर्छ, नियमित महाधिवेशनमा सबै सहभागी हुनुपर्छ र पार्टीलाई नवीन सम्भावनाको मार्गमा ऐक्यबद्ध भएर पुऱ्याउनुपर्छ’ भन्ने भावना प्रबल देखिएको छ । पार्टी सबैको साझा हो, यही अभिमत सबैको साझा अभिष्ट पनि हो ।

७) वर्षौंदेखिको नागरिकको असन्तुष्टि फागुन २१ को निर्वाचनबाट हाम्रो विपक्षमा मतका रुपमा प्रकट भइसकेको छ । अब यो विगत बनिसक्यो । अब नयाँ ढंगले अघि बढेर, कांग्रेसले देशका लागि विगतमा गरेका सबै राम्रा काम शान्तसँग नागरिक पंक्तिमा पुऱ्याउन हामीलाई समय मिलेको छ । नयाँ परिस्थिति विकास गर्न नयाँ संकल्प र नयाँ विश्वासका साथ नवीन उर्जाले हामी अग्रसर हुनुछ ।