इरानद्वारा जहाज नियन्त्रणमा, नेपाली युवा अमृत झा पक्राउ
काठमाडौँ । इरान–इजरायलबीच बढ्दो तनावका बीच खाडी क्षेत्रको रणनीतिक जलमार्ग होर्मुज जलडमरूमध्यबाट एक नेपाली युवक इरानी सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्।
धनुषाका अमृत झा इरानी सेनाले एक व्यापारिक जहाज नियन्त्रणमा लिँदा पक्राउ परेका हुन्। उक्त जहाजमा कार्यरत सबै ‘क्रू मेम्बर’लाई इरानी पक्षले नियन्त्रणमा लिएको पुष्टि भएको छ।
परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काले घटनाबारे जानकारी दिँदै झासहित सबै चालकदल सदस्य नियन्त्रणमा रहेको बताएका छन्। झा जहाजमा प्राविधिक कर्मचारीका रूपमा कार्यरत थिए।
इरानी रिभोलुसनरी गार्ड्सले उक्त जहाज इजरायलसँग सम्बन्धित रहेको दाबी गर्दै नियन्त्रणमा लिएको जनाइएको छ।
झा परिवारसँग सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि निवेदन दिएपछि घटनाबारे पुष्टि भएको हो।
परराष्ट्र मन्त्रालयले तेहरानस्थित नेपाली दूतावासमार्फत झाको अवस्था बुझ्ने र रिहाइका लागि कूटनीतिक पहल भइरहेको जनाएको छ।
होर्मुज जलडमरूमध्य विश्वकै अत्यन्त महत्वपूर्ण समुद्री मार्ग हो, जसले पर्सियन गल्फलाई ओमानको खाडी हुँदै अरब सागरसँग जोड्दछ।
झाजस्तै धेरै नेपाली नागरिक अन्तर्राष्ट्रिय ‘मर्चेन्ट नेभी’ तथा कार्गो जहाजहरूमा विभिन्न भूमिकामा कार्यरत छन्।
