चैत १२ गते सांसदको शपथ, दलहरूलाई संसदीय कार्यालय वितरण

काठमाडौँ । संघीय संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलहरूलाई संसदीय दलको कार्यालय उपलब्ध गराएको छ। सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बिहीबारदेखि दलहरूलाई कार्यालय हस्तान्तरण गरिएको हो।

उपलब्ध स्रोतसाधनभित्रै रहेर कार्यालय व्यवस्थापन गरिएको जनाउँदै उनले दलका प्रतिनिधिहरूलाई कार्यालयको अवलोकनसमेत गराइएको जानकारी दिए। ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका लागि यसअघि नेकपाले प्रयोग गर्दै आएको कार्यालय उपलब्ध गराइएको छ भने अन्य दलहरूलाई प्रतिनिधित्वको आधारमा स्थान बाँडफाँट गरिएको छ।

यसैबीच, सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण कार्यक्रम चैत १२ गते दिउँसो २ बजेका लागि तय गरेको छ। शपथअघि ज्येष्ठ सदस्यको पहिचान गरी राष्ट्रपतिसमक्ष शपथ गराइनेछ र सोही ज्येष्ठ सदस्यले अन्य सांसदहरूलाई शपथ गराउनेछन्।

निर्वाचन आयोगबाट अन्तिम परिणाम प्राप्त भएपछि ज्येष्ठ सदस्यको पहिचान गरी तीन जनाको नाम राष्ट्रपतिको कार्यालयमा पठाइनेछ, जसमध्ये सबैभन्दा ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ गराउने प्रावधान रहेको छ।

सचिवालयले बिहीबार नै राजनीतिक दलहरूसँग शपथग्रहण, कार्यालय व्यवस्थापन तथा अभिमुखीकरण कार्यक्रमबारे छलफल गरेको थियो। दलहरूले सांसदका लागि सैद्धान्तिकभन्दा व्यवहारिक तालिम आवश्यक रहेको सुझाव दिएका छन्। सचिवालयले सोही सुझावका आधारमा अभिमुखीकरण कार्यक्रमको स्वरूप तय गर्ने जनाएको छ।