पराजयको जिम्मेवारी लिँदै ठाकुर गैरे सहभागी बैठकपछि एमाले तानसेन नगर र वडा कमिटी विघटन
रुपन्देही । निर्वाचनमा उम्मेदवारको हारपछि नैतिक जिम्मेवारी लिँदै नेकपा एमाले पाल्पाको तानसेन नगर कमिटीसहित सबै वडा कमिटी विघटन गरिएको छ।
निर्वाचन समीक्षा बैठकपछि नगर अध्यक्ष गुराँस आत्रेयले १ नगर कमिटी र १४ वटा वडा कमिटी विघटन गरिएको जानकारी दिए। यसअघि नगरमा ७२ टोल कमिटी समेत गठन गरिएको थियो।
२०७९ को समानुपातिकतर्फ करिब ९ हजार मत पाएको एमालेको मत यसपटक घटेर ४ हजारमा झरेपछि संगठन पुनर्गठनको निर्णय गरिएको हो। कार्यकर्ताको भावना र रोजाइअनुसार चुस्तदुरुस्त संरचना बनाउन पुरानो कमिटी विघटन गरिएको आत्रेयले बताए।
उनका अनुसार उनले व्यक्तिगत रूपमा राजीनामा दिने तयारी गरे पनि सबैले सामूहिक जिम्मेवारी लिँदै सम्पूर्ण कमिटी विघटन गरी नयाँ ढंगले अघि बढ्न सुझाव दिएका थिए।
बैठकले २०८३ जेठ ३ गते मदन–आश्रित स्मृति दिवसको अवसरमा नगर अधिवेशन गर्ने तथा तीन महिनाभित्र सबै वडा कमिटी पुनर्गठन गर्ने निर्णय गरेको छ।
बैठकमा सहभागी ठाकुर गैरेले असहज परिस्थितिमा जिम्मेवारी पूरा गरेका सबैलाई धन्यवाद दिँदै अब नयाँ शैलीमा अघि बढ्नुपर्ने बताए। उनले जनताको मन र मत दुवै जित्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा केन्द्र, प्रदेश र जिल्लास्तरका नेताहरूका साथै नगर उपाध्यक्ष शशी श्रेष्ठ, सचिव महेशलाल शाक्यलगायतले पनि आफ्नो धारणा राखेका थिए।
