चौरजहारीका मेयर पुष्प वादी र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मंगलबार काठमाडौँस्थित विशेष अदालतमा दायर गरिएको मुद्दामा नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहलाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०८१/८२ मा करार अवधि थप्नका लागि मेयर वादीले एक लाख रुपैयाँ घुस लिएको आरोप छ। उक्त रकम असिस्टेन्ट सब–इन्जिनियर शाहले नै दिएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेका थिए।

शाहले आर्थिक वर्ष २०८२/८३ मा घुस दिन नसक्दा आफ्नो करार नथपिएको र बर्खास्त गरिएको दाबी गर्दै उजुरी दिएका थिए। त्यसपछि गरिएको अनुसन्धानमा घुस लेनदेन पुष्टि भएको भन्दै दुवै जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

अख्तियारले मुद्दामा दुवै जनालाई कैद सजाय र एक लाख रुपैयाँ घुस रकम जफत गर्न माग गरेको छ।