हायात होटल तोडफोड र प्राइड क्यासिनोमा लुटपाट–आगजनी गर्ने दुई पक्राउ
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौंको बौद्धस्थित हायत होटलमा तोडफोड तथा भित्र रहेको प्राइड क्यासिनोमा लुटपाट र आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–६ बौद्ध बस्दै आएका ३७ वर्षीय ‘कुले’ भन्ने कुलध्वज लामा र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ घर भई बौद्ध बस्दै आएका ३७ वर्षीय ‘कोरियन’ भन्ने राकेश लामा रहेका छन्।
नेपाल प्रहरीका अनुसार उनीहरूले जेनजी आन्दोलनको अवसर पारेर होटलभित्र रहेको क्यासिनोमा लुटपाट तथा आगजनी गरेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा फागुन ३० गते बौद्धबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए।
