पूर्व राजस्व महानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध ७० लाख घुस प्रकरणमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

आयोगले अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको आरोपमा आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो। अख्तियारका अनुसार अधिकारीले एचके इन्टरप्राइजेज प्रालिसँग सम्बन्धित राजस्व चुहावटसम्बन्धी छानबिन तथा अन्य कसुरबाट जोगाउन सहजीकरण गरेबापत उक्त रकम लिएको आरोप लगाइएको छ।

कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठबाट घुस लिँदा विकास कुमार चापागाई, देवेन्द्र केसी र रविन्द्र लामिछानेलगायतसँग सल्लाह तथा मिलेमतो भएको अख्तियारले जनाएको छ।

अनुसन्धानअनुसार श्रीकृष्ण श्रेष्ठले आफू सञ्चालक रहेको कम्पनीको खाताबाट तीनवटा चेकमार्फत २०७९ साउन २४ गते अधिकारीलाई रकम भुक्तानी गरेका थिए। कर्मचारीहरूको नाममा चेक काटेर उक्त रकम अधिकारीको खातामा जम्मा गरिएको पाइएको छ।

अख्तियारका अनुसार विकास कुमार चापागाईको नाममा ५० लाख रुपैयाँको चेकमार्फत भुक्तानी गरिएको थियो। घुसस्वरूप लिएको रकम अधिकारीले भक्तपुरमा जग्गा खरिद गर्न प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ।

अधिकारीविरुद्ध ७० लाख रुपैयाँ बिगो कायम गरिएको छ। यस्तै घुस रकम उपलब्ध गराउने द कुटि रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर तथा शेयरधनी देवेन्द्र केसीविरुद्ध २० लाख रुपैयाँ र बाँकेका रविन्द्र लामिछानेविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गरिएको छ।

उनीहरूविरुद्ध सोही रकम बराबरको सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत दाबी गरिएको छ। साथै घुस रकमबाट खरिद गरिएको जग्गा जफत गर्न पनि अख्तियारले माग दाबी गरेको छ।