किशोरी साहलाई अन्तरिम आदेश अस्वीकार, मातृका यादवको सांसद पद कायम

काठमाडौं । सर्वोच्च अदालतले किशोरी साह कमलको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

आइतबार न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले निर्वाचन आयोग नेपाललाई विपक्षी बनाउँदै साहले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

निर्वाचन आयोगले फागुन १९ गते किशोरी साह कमलको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको उजुरीका आधारमा आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।

उक्त निर्णयविरुद्ध साह सर्वोच्च अदालत पुगेका थिए। यसअघि शुक्रबार सर्वोच्चले उनलाई कालोसूचीबाट हटाउन आदेश दिएको थियो। त्यसपछि कर्जा सूचना केन्द्रले पनि उनको नाम कालोसूचीबाट हटाउने पत्र पठाएको थियो।

यद्यपि कालोसूचीबाट हटाइएपछि पनि सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय तत्काल रोक्दै उनलाई सांसद घोषणा गर्न भने अस्वीकार गरेको छ।

यसअघि आयोगले उक्त निर्वाचन क्षेत्र धनुषा–१ बाट दोस्रो धेरै मत प्राप्त गरेका मातृका प्रसाद यादवलाई सांसदको प्रमाणपत्र दिइसकेको छ।

साहको उम्मेदवारी खारेज भए पनि उनको चुनाव चिह्नमा परेको मतको विवरण आयोगले सुरक्षित राखेको थियो। त्यसबेला आयोगले सर्वोच्चको अन्तिम आदेशअनुसार हुने भन्दै यादवलाई प्रमाणपत्र दिने निर्णय गरेको थियो। साह रास्वपाबाट उम्मेदवार थिए ।