समानुपातिकपछि संसद्को अंकगणित स्पष्ट, रास्वपा दुई तिहाइ नजिक
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएसँगै आगामी संसद्को सम्भावित अंकगणित लगभग स्पष्ट भएको छ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक मतको आधारमा करिब ५७ सिट पाउने अनुमान गरिएको छ। निर्वाचन आयोगले औपचारिक रूपमा सिट निर्धारण भने गरिसकेको छैन । आयोगले प्रयोग गर्ने ‘सेन्ट–लग फर्मुला’का आधारमा हालसम्मको मत परिणाम राखेर गरिएको गणनाअनुसार रास्वपाले ५७ सिट पाउने देखिएको हो।
यदि यही संख्या कायम भएमा प्रतिनिधिसभामा रास्वपाको कुल सिट १८२ पुग्नेछ। २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइका लागि १८४ सिट आवश्यक पर्ने भएकाले रास्वपा दुई सिटले दुई तिहाइ बहुमतबाट पछि पर्ने देखिन्छ। यद्यपि स्वतन्त्र सांसद महावीर पुन भने रास्वपाको समर्थनमा निर्वाचित भएका छन्।
समानुपातिकतर्फ कुल १ करोड ७ लाख ६४ हजार ८८९ मतमध्ये रास्वपाले ५१ लाख ४६ हजार ६८१ मत प्राप्त गरेको छ, जुन कुल मतको करिब ४७ प्रतिशतभन्दा बढी हो।
समानुपातिकतर्फबाट सिट पाउने सम्भावना रहेका दलहरू ६ वटा देखिएका छन्। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले समानुपातिकबाट करिब २० सिट पाउने अनुमान छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेकाले प्रतिनिधिसभामा उसको कुल सिट ३८ पुग्ने देखिएको छ, जुन अघिल्लो निर्वाचनको तुलनामा निकै कम हो।
नेकपा (एमाले) ले समानुपातिकबाट करिब १६ सिट पाउने अनुमान छ। प्रत्यक्षमा ९ सिट जितेको एमालेको प्रतिनिधिसभामा कुल सिट २५ पुग्ने देखिएको छ। अघिल्लो संसद्मा एमालेको ७९ सिट थियो। यसपटक एमालेले करिब आधा मत गुमाएर १४ लाख ५१ हजार ७५९ मतमा सीमित भएको छ।
नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकबाट करिब ९ सिट पाउने अनुमान छ। प्रत्यक्षमा ८ सिट जितेको उक्त दलको प्रतिनिधिसभामा कुल सिट १७ पुग्ने देखिएको छ।
त्यस्तै श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकबाट ४–४ सिट पाउने सम्भावना छ। श्रम संस्कृतिले प्रत्यक्षतर्फ ३ सिट जितेकाले उसको कुल सिट ७ पुग्नेछ भने राप्रपाले प्रत्यक्षमा १ सिट जितेकाले कुल सिट ५ पुग्ने देखिन्छ। श्रम संस्कृति पार्टी भने चुनावभन्दा करिब चार महिना अघि मात्र गठन भएको नयाँ दल हो।
यस चुनावमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीले भने कुनै सिट प्राप्त गर्न सकेनन्। समानुपातिकतर्फ तीन प्रतिशत मतको थ्रेसहोल्ड समेत पार गर्न नसकेका कारण उनीहरू संसद् बाहिर रहने भएका छन्।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिक मतगणना सकिएपछि अब सिट बाँडफाँटको प्रक्रिया अघि बढ्नेछ। दलहरूले पाएको सदर मतका आधारमा सिट निर्धारण गरिनेछ।
सिट निर्धारण भएपछि आयोगले सम्बन्धित दलहरूलाई तीन दिनभित्र समानुपातिक बन्दसूचीबाट नाम सिफारिस गर्न पत्र पठाउनेछ। त्यसपछि आयोगले सिफारिस गरिएका नामहरूको परीक्षण गरी अन्तिम रूपमा समानुपातिक सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नेछ।
