विशेष महाधिवेशन अनुचित सिद्ध भयो, मुद्दा छिटो टुङ्ग्याओस् : कांग्रेस नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनको प्रस्ताव अनुचित भएको बताएका छन् ।

बुधबार सिंहदरबार परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको आन्तरिक विवादसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसलाई छिटो टुङ्ग्याउन आग्रह गरे। सिटौलाले आफूहरूले संस्थागत रूपमा विशेष महाधिवेशन आवश्यक नभएको स्पष्ट पारे।

उनले अदालतमा रहेको मुद्दाको छिटो फैसला भए मात्र पार्टीभित्रको अन्योल हटेर अगाडि बढ्न सहज हुने बताए।

सिटौलाले भने, “विशेष महाधिवेशनलाई हामीले उचित ठानेका छैनौँ। अहिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा छ, त्यसलाई छिट्टै टुङ्ग्याओस् भन्ने हाम्रो अपेक्षा हो।”

अदालतले उक्त मुद्दामा कस्तो फैसला गर्छ भन्ने विषय भने प्रतीक्षाकै रहेको उनले बताए। पार्टीको आन्तरिक विवाद अदालतसम्म पुग्नु र नेतृत्व तहले फैसलाको प्रतिक्षा गरिरहनुले कांग्रेसभित्रको राजनीतिक तरलता र गुटगत मतभेद स्पष्ट भएको उनको भनाइ थियो।

सिटौलाले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको टिप्पणी गरे।

उनका अनुसार कांग्रेस, एमाले, नेकपा तथा मधेस केन्द्रित दलहरूका लागि यो परिणाम केही हदसम्म अप्रत्याशित देखिएको छ। उनले यस विषयमा पार्टीभित्र थप छलफल हुन बाँकी रहेको बताए।

सिटौलाले पुराना दलहरूको राजनीतिक हैसियत झण्डै उस्तै देखिएको उल्लेख गर्दै अब राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसदहरूले देश र जनताको हितमा कस्तो काम गर्छन् भन्ने कुराले आगामी राजनीतिक दिशालाई प्रभाव पार्ने बताए।

उनले बदलिँदो राजनीतिक परिस्थितिमा नयाँ शक्तिको उदयले राजनीतिक भूमिकामा परिवर्तन ल्याएको उल्लेख गर्दै नयाँ परिवेशमा राष्ट्रिय सभाको भूमिका अझ महत्वपूर्ण हुने बताए।