‘कमला मिस’ को छायांकन सम्पन्न, दशकपछि निर्देशनमा नीर शाह

काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशित फिल्म ‘कमला मिस’ को छायांकन सम्पन्न भएको छ ।

फिल्मको छायांकन १ फागुनदेखि संघीय राजधानी काठमाडौंका विभिन्न स्थानमा सुरु गरिएको थियो। लाइन–प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन)का अनुसार मंगलबार सबै छायांकन टुंगिएको हो। उनका अनुसार फिल्मको छायांकन २३ दिनमै पूरा गरिएको छ।

बीचमा निर्वाचनका कारण तीन दिन छायांकन स्थगित भए पनि निर्धारित तालिकाभित्रै काम सम्पन्न गरिएको उनले जानकारी दिए।

मनोवैज्ञानिक कथावस्तुमा आधारित यस फिल्ममा निर्देशक शाह स्वयंले पनि अभिनय गरेका छन्। फिल्ममा रमेश बुढाथोकी, बास्ना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडा लगायतको अभिनय रहेको छ।

फिल्मलाई विजय मल्ल स्मृति प्रतिष्ठान का लागि उमा मल्ल ले निर्माण गरेकी हुन्। कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन्। फिल्मको मौलिक कथा विजय मल्ल को हो भने एडप्टेड पटकथा तथा संवाद निर्देशक शाह र प्रजल दुलाल ले संयुक्त रूपमा लेखेका छन्।

फिल्ममा शिवराम श्रेष्ठ को छायांकन, युग भुसाल को संगीत र रामजी लामिछाने को नृत्य निर्देशन रहेको छ। निर्माण व्यवस्थापन भोला सुबेदी ले गरेका छन् भने मुख्य सहायक निर्देशक सागर बोहरा रहेका छन्।

दशकपछि निर्देशनमा फर्किएका शाहले यसअघि वासुदेव, पच्चीस वसन्त, राजमती, वसन्ती, मसान र सेतोबाघ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन्।

फिल्मको प्रदर्शन मिति भने हालसम्म सार्वजनिक गरिएको छैन।