छोरा एमालेबाट निर्वाचित भएपछि बुवालाई कांग्रेसको कारबाही

कञ्चनपुर – नेपाली कांग्रेसले पार्टीका नेता तथा नेपाल किसान संघ बझाङका पूर्व जिल्ला अध्यक्ष रामबहादुर महरलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।

चुनावका क्रममा कांग्रेसका उम्मेदवारविरुद्ध गतिविधिमा संलग्न भएको आरोपमा महरलाई पार्टीबाट हटाइएको हो। पार्टीको आचरण, अनुशासन र विधान विपरीत काम गरेको ठहर गर्दै उनलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न जिल्ला समितिले केन्द्रीय अनुशासन समितिलाई सिफारिस गरेको जनाएको छ।

कांग्रेसका अनुसार महरले बझाङमा पार्टीका उम्मेदवार प्रकाश रसाइली स्नेही विरुद्ध गतिविधि गर्दै अन्य दलका उम्मेदवारका पक्षमा मत मागेको प्रमाण फेला परेको थियो।

यसैबीच बझाङमा नेकपा एमालेका उम्मेदवार ऐन महर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। ऐन महर कांग्रेस नेता रामबहादुर महरका छोरा हुन्।

उक्त विषयमा नेपाली कांग्रेस बझाङ जिल्ला अनुशासन समितिका संयोजक वर्कबहादुर रोकायाको सिफारिसमा अन्य चार जनासँग पनि स्पष्टीकरण मागिएको छ।

स्पष्टीकरण सोधिएकामा कांग्रेस जिल्ला कमिटी सदस्य अक्कल कुँवर, भक्तबहादुर सिंह, वित्थडचिर गाउँपालिका अध्यक्ष अम्मर महर र रवि कुमार सिंह रहेका छन्।

उनीहरूले चित्त बुझ्दो जवाफ नदिए थप कारबाही गर्न समेत सिफारिस गरिएको बताइएको छ।