जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन आज प्रधानमन्त्रीलाई बुझाइँदै

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा तथा तोडफोडका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज (आइतबार) आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउने भएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन्।

उनका अनुसार प्रधानमन्त्रीले प्रतिवेदन ग्रहण गरेपछि त्यसलाई मन्त्रिपरिषद् बैठकमा पेस गरिनेछ र अध्ययनपछि आवश्यक कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ।

प्रधानमन्त्री कार्कीले आफ्नो सरकारले कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिने बताउँदै आएको छ।

जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न कार्की नेतृत्वको अन्तरिम सरकारले गत असोज ५ गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगलाई सुरुमा तीन महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको भए पनि काम पूरा नभएकाले पटक–पटक म्याद थपिएको थियो।

अन्तिमपटक माघ २९ गते २५ दिनको म्याद थप गरिएको थियो। आयोगले अनुसन्धान पूरा गरिसके पनि निर्वाचन प्रभावित हुनसक्ने आशंकाले सरकारले प्रतिवेदन सार्वजनिक गर्न चुनावपछि सारिएको बताइएको छ।

जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो। तीमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ।

आयोगले आन्दोलनका क्रममा दमन भएको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतसँग पनि बयान लिएको थियो।