जेनजी आन्दोलनमा गोली चलाउने, चलाउन लगाउने र चलाउन नरोक्ने सबैलाई कारबाही सिफारिस : आयोग अध्यक्ष कार्की

काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आन्दोलनका क्रममा गोली चलाउन आदेश दिने, गोली चलाउने तथा त्यसलाई रोक्न पहल नगर्ने सबैलाई कारबाहीका लागि सिफारिस गरिएको बताएका छन्।

आयोगले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष कार्कीले भने, “गोली हान्न लगाउने, गोली हान्ने र गोली हान्न नरोक्ने सबैलाई कारबाही सिफारिस गरेका छौँ।”

आइतबार बिहान आयोगका अध्यक्ष कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो।

प्रतिवेदन बुझाउने क्रममा अध्यक्ष कार्कीले आयोगले इमानदारीपूर्वक काम गर्दै कुनै पूर्वाग्रह नराखी देखिएको तथ्य मात्रै प्रतिवेदनमा समेटिएको बताए। भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझाव पनि प्रतिवेदनमा समावेश गरिएको उनले जानकारी दिए।

कार्कीले सरकारको कुशासन र विभिन्न निकायमा देखिएको ढिलासुस्तीका कारण जनआक्रोश बढ्दै गएको र त्यसैको परिणामस्वरूप भदौ २३ गते जेनजी आन्दोलन भएको दाबी गरे। उनका अनुसार नियमनकारी निकायहरू कमजोर बनाइएका, न्यायपालिका र कार्यपालिकामा ढिलासुस्ती बढेका तथा न्यायाधीशदेखि संवैधानिक नियुक्तिसम्म दलीय भागबण्डामा गर्ने प्रवृत्तिले असन्तुष्टि बढाएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

आयोगका सदस्य विज्ञानराज शर्माले यो प्रतिवेदन जाँचबुझको दस्तावेज मात्र भएकाले अब सम्बन्धित निकायले थप अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताए। अर्का सदस्य विश्वेश्वर भण्डारीले प्रतिवेदनमा सुशासन कायम गर्न आवश्यक उपायहरू पनि समेटिएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गर्न सके देशको अवस्था परिवर्तन हुनसक्ने बताए।

प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री सुशीला कार्कीले आयोगले गरेको मेहनतप्रति धन्यवाद व्यक्त गर्दै अब प्रतिवेदनको अध्ययन गरेर मन्त्रिपरिषद्‌मा पेस गरिने बताइन्।

उनले आयोगका सदस्यहरू न्याय, कानुन र अनुसन्धान क्षेत्रमा अनुभवी र प्रतिष्ठित व्यक्तित्व भएकाले प्रतिवेदनले तथ्यलाई स्पष्ट रूपमा उजागर गरेकोमा आफू विश्वस्त रहेको पनि बताइन्। साथै प्रतिवेदनको विवरण अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने र सम्भव भएसम्म यसको निचोड सार्वजनिक गरिने उनको भनाइ छ।