मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति रोक्न राष्ट्रसङ्घको आग्रह
काठमाडौँ । बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले मध्यपूर्वमा जारी युद्धका क्रममा इरानी विद्यालयमा भएको हवाई आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्न र थप क्षति हुन नदिन आग्रह गरेको छ।
गत शनिबार इरानको मिनाब सहरस्थित एक विद्यालयमा भएको हवाई आक्रमणमा १५० भन्दा बढी विद्यार्थीको मृत्यु भएको जनाइएको छ। इरानी सञ्चारमाध्यमका अनुसार उक्त आक्रमणमा ज्यान गुमाएका विद्यार्थीसहित कम्तीमा १६५ जनाको मङ्गलबार सामूहिक अन्त्येष्टि गरिएको छ।
बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिका स्वतन्त्र विज्ञहरूलाई पक्ष राष्ट्रहरूले बाल अधिकारसम्बन्धी महासन्धि कसरी कार्यान्वयन गरिरहेका छन् भन्ने विषयमा निगरानी गर्ने जिम्मेवारी दिइएको पनि जनाइएको छ।
समितिले मध्यपूर्वको युद्ध तत्काल अन्त्य गर्न युद्धविरामको आह्वान गर्दै बालबालिकाहरू अब उप्रान्त अपाङ्गता, विस्थापन र गम्भीर मनोवैज्ञानिक समस्याको सिकार हुन नपरोस् भन्ने आशय व्यक्त गरेको छ। साथै, युद्धरत सबै पक्षलाई बालबालिकाको सुरक्षाका लागि आवश्यक सबै उपाय अवलम्बन गर्न आग्रह गरिएको छ।
