दुर्गा प्रसाईं पुनः पक्राउ, भक्तपुर प्रहरी हिरासतमा

भक्तपुर । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी प्रकाश जवेगुका अनुसार प्रसाईंलाई आज बिहान निवासबाटै पक्राउ गरी हिरासतमा राखिएको हो। उनको नेतृत्वमा आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियो।

प्रहरीका अनुसार प्रसाईंले पूर्वराजपरिवार सडकमा आउने भन्दै उत्तेजक अभिव्यक्ति दिएका थिए। तर पूर्वराजपरिवारको तर्फबाट त्यस्तो कुनै कार्यक्रम तय नभएको जनाइएको छ।

पारिवारिक स्रोतका अनुसार आज बिहान करिब ६ बजे नै प्रहरी टोली भक्तपुरस्थित उनको निवास वरिपरि तैनाथ थियो। पौने ८ बजे पक्राउ पुर्जी थमाएर उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्तिविरुद्धको कसुर’सम्बन्धी मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उल्लेख छ।

प्रसाईंलाई हाल जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा राखिएको छ।

यसअघि पनि प्रसाईं ४ फागुनमा काठमाडौंमा पक्राउ परेका थिए र १३ फागुनमा रिहा भएका थिए। गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी श्रीमती उमा प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको थियो।