चन्द्र भण्डारीलाई जिताउन विश्वप्रकाश शर्माको अपील

गुल्मी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका उम्मेदवार चन्द्र भण्डारीलाई विजयी गराउन अपील गर्दै गुल्मी आइपुगेका छन्।

गुल्मी–१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले वर्तमान विषम राजनीतिक परिस्थितिबाट देशलाई निकास दिन सक्ने सामर्थ्य नेपाली कांग्रेससँग मात्रै रहेको दाबी गरे। उनले कांग्रेसबाहेक अन्य दलसँग देशलाई सही दिशामा लैजान सक्ने स्पष्ट योजना र क्षमता नरहेको बताए।

उनले पार्टी सभापति गगनकुमार थापाको नेतृत्वको प्रशंसा गर्दै भने, “सबै क्षेत्रका योग्य र विज्ञलाई समेटेर देश सम्हाल्ने तागत आज कांग्रेससँग मात्रै छ। चन्द्र भण्डारीजस्तो विज्ञको नेतृत्वमा संरचना निर्माण गरी समाजलाई सही दिशामा अघि बढाउन सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ।”

शर्माले थापा प्रधानमन्त्री बनेपछि पार्टीका नेताहरूले निर्वाचित सांसदको कामकारबाही निगरानी गर्ने स्पष्ट प्रतिबद्धता पनि जनाए। उनका अनुसार संसदमा नरहेका नेताहरूले पनि जितेका सांसदले सही मुद्दा उठाए वा नउठाएको मूल्यांकन गर्ने र प्रत्येक दुई महिनामा निर्वाचन क्षेत्रमा आएर जनताका समस्या सुने–नसुनेको विषयमा पार्टी कार्यालयमार्फत झक्झक्याइनेछ।

“हामी आफैं सांसद नभए पनि जितेका प्रतिनिधिले जनताको पक्षमा काम गरे–नगरेको हेर्नेछौँ र क्षेत्रमै आएर समस्या बुझ्न बाध्य बनाउनेछौँ,” शर्माले भने।

उपसभापति शर्माले गुल्मी क्षेत्रको समग्र विकासमा चन्द्र भण्डारी जिम्मेवार र परिपक्व नेता भएको उल्लेख गर्दै मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गरे। उनले भण्डारीले गरेका प्रतिवद्धता केवल व्यक्तिगत नभई अब देशको नेतृत्व गर्ने कांग्रेस सभापति थापाको समेत साझा प्रतिवद्धता भएको बताए।