इरानभर हवाई आक्रमणमा २०० बढीको मृत्यु, विद्यालयमा मिसाइल खस्दा १०८ जनाको ज्यान

काठमाडौं । इरानभर भएका हवाई आक्रमणमा कम्तीमा २०१ जनाको मृत्यु भएको र ७४७ जना घाइते भएका छन्। स्थानीय अधिकारीका अनुसार दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरको एक विद्यालयमा मिसाइल खस्दा मात्रै १०८ जनाको ज्यान गएको हो।

उक्त आक्रमण अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको इरानी अधिकारीहरूको दाबी छ। तर अमेरिका र इजरायलले विद्यालयलाई लक्षित गरी आक्रमण गरिएको विषय अस्वीकार गरेका छन्।

इरानका राष्ट्रपति मोसुद पेजेस्कियानले विद्यालयमाथिको आक्रमणलाई ‘जंगली कार्य’ र ‘आक्रमणकारीहरूको अपराधको अर्को कालो अध्याय’ भन्दै निन्दा गरेका छन्।

उक्त विद्यालय इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी) को क्याम्पबाट करिब ६०० मिटर टाढा रहेको बताइएको छ। आईआरजीसीको उक्त क्याम्प अमेरिका र इजरायलको आक्रमणको मुख्य निशानामा परेको थियो।

स्थानीय अधिकारीका अनुसार विद्यालयमा तीनवटा मिसाइल खसेका थिए। घटनापछि रेडक्रस र रेड क्रिसेन्टले उद्धार टोली परिचालन गरेका छन्।

बीबीसीले विस्फोटपछिको अवस्थाका केही भिडियोहरू प्रमाणीकरण गरेको जनाएको छ। ती दृश्यमा भवनबाट धुवाँ उडिरहेको, वरिपरि मानिसको भीड र चिच्याहट सुनिएको उल्लेख छ। तर मृतकको संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ।

इरानमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई भिसा दिन कठिन हुने भएकाले घटनास्थलमा पुगेर तथ्य संकलन गर्न चुनौती हुने गरेको जनाइएको छ।