लोकसेवा नियुक्तिको लोभमा वैकल्पिक उम्मेदवारबाटै सब–इन्जिनियर यादवको हत्या, तीन जना पक्राउ

जनकपुरधाम । सर्लाहीमा सब–इन्जिनियर प्रमोद कुमार यादव को गोली हानी हत्या प्रकरणमा प्रहरीले मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरेको छ।

सिरहाको सुखीपुर नगरपालिका–९ बैशाखा घर भई हाल सर्लाहीको मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका ३६ वर्षीय यादवमाथि २०८२ फागुन ३ गते राति करिब ७ः५५ बजे गोली प्रहार भएको थियो। जिल्ला पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत यादवलाई फोन गरेर डेराबाट बाहिर बोलाई गोली हानिएको प्रहरीले जनाएको छ। घाइते अवस्थामा प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको थियो। पोस्टमार्टम रिपोर्टअनुसार छातीमा लागेको गोली नै मृत्युको कारण पुष्टि भएको छ।

प्रहरीका अनुसार महोत्तरीको रामगोपालपुर नगरपालिका–५ घर भई हाल सर्लाही बरहथवा–९ शान्तिटोलमा बस्दै आएका ३४ वर्षीय गणेश कुमार महतो नै घटनाका मुख्य योजनाकार हुन्। उनी प्रदेश लोक सेवा आयोग, मधेश प्रदेश को सब–इन्जिनियर पदका एक मात्र वैकल्पिक उम्मेदवार थिए।

मुख्य सिफारिसमा परेका प्रमोद यादवको नियुक्ति भएको एक वर्षभित्र पद रिक्त भए आफूले स्थायी जागिर पाउने आशयले योजनाबद्ध रूपमा हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार महतोले आफ्ना साला चन्द्रकिशोर सिंह कुशवाहा (२२) र भाइ विजय कुमार महतो (२२) लाई प्रयोग गरी योजना बनाएका थिए। विजय महतोले ८० हजार रुपैयाँमा हतियार खरिद गरी उपलब्ध गराएको प्रारम्भिक बयान दिएका छन्।

अनुसन्धानअनुसार गणेश महतोले आफूलाई ‘राकेश यादव’ भनेर चिनाउँदै मृतकसँग सम्पर्क राख्दै आएका थिए। घटनाको दिन उनले ह्वाट्सएप कल गरी डेराबाट बाहिर बोलाए र बाहिर निस्कनेबित्तिकै पेस्तोलबाट गोली प्रहार गरे। त्यसपछि उनीहरू मोटरसाइकलमा फरार भई रौतहटको गढीमाई नगरपालिका क्षेत्रमा मोटरसाइकल छाडेर भागेका थिए।

भारतीय नम्बर प्लेट बीआर ०१ एफजेड १०८२ भएको मोटरसाइकल रौतहटबाट बरामद गरिएको छ। घटनास्थलबाट गोलीको खोका १ थान, प्रयोग गरिएको पेस्तोल १ थान, मोटरसाइकल १ थान र मोबाइल फोन ३ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त पेस्तोल यसअघि मलंगवा–४ स्थित निर्माणाधीन हनुमान मन्दिरमा बालकले फेला पारी खेलाउने क्रममा पड्किँदा एक बालक घाइते भएको घटनासँग समेत सम्बन्धित रहेको आशंका गरिएको छ। फरेन्सिक परीक्षणपछि थप पुष्टि हुने प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अनुसार कर्तव्य ज्यान तथा हातहतियार खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। ज्यान मार्ने नियतले गरिएको कसूरमा जन्मकैदसम्मको सजाय हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।