घुसपैठ भइसकेपछि पनि जुलुस किन अघि बढाइयो ? जेन–जी अगुवा तनुजा पाण्डेले उठाइन् आठ गम्भीर प्रश्न
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा देखिएको हिंसात्मक मोडबारे आन्दोलनकी अगुवा तनुजा पाण्डे ले आठ वटा गम्भीर प्रश्न सार्वजनिक गरेकी छन्। सामाजिक सञ्जालमार्फत धारणा राख्दै उनले आन्दोलनलाई नियतवश उग्रतातर्फ धकेलिएको आशंका व्यक्त गरेकी हुन्।
उनले शान्तिपूर्ण भनिएको आन्दोलन एकाएक कसरी हिंसात्मक बन्यो भन्ने प्रश्न उठाउँदै विद्यालयको पोसाकमा रहेका नाबालकमाथि गोली चलाउने आदेश कसले दियो र देशभर एकैसाथ आगजनी कसरी सम्भव भयो भन्ने विषयमा स्पष्ट जवाफ माग गरेकी छन्। उनका अनुसार यी घटनाले आन्दोलनभित्रको ‘अदृश्य खेल’ र राज्य संयन्त्रको ‘दोहोरो मापदण्ड’ उजागर गर्छ।
पाण्डेले आन्दोलनको प्रारम्भिक चरण शान्तिपूर्ण रहेको तर बिहान ९:३० बजे माइतीघरमा भएको झडप र उत्तेजक नाराबाजी नियोजित देखिएको बताएकी छन्। जेन–जी समूहले बिहान ११ बजे नै सामाजिक सञ्जालमार्फत घुसपैठ भइसकेको भन्दै घर फर्कन आह्वान गरिसक्दा पनि नेतृत्व तहले त्यसलाई बेवास्ता गर्नु गम्भीर प्रश्न भएको उनको भनाइ छ।
“जोखिम स्पष्ट भइसकेपछि पनि आन्दोलन अघि बढाउने निर्णय कसले गर्यो?” भन्दै उनले संसद् भवनसम्म जुलुस कसरी पुग्यो र आन्दोलनको दिशा कसले मोड्यो भन्नेबारे प्रश्न उठाएकी छन्।
भदौ २४ को घटनामा राज्य र सुरक्षा निकायको भूमिकामाथि उनले कडा टिप्पणी गरेकी छन्। भाटभटेनी सुपरमार्केटमा भएको आगजनीमा ७ जनाको मृत्यु भए पनि उनीहरूको पहिचान र मृत्युको कारणबारे राज्य मौन रहेको भन्दै उनले सुरक्षा संयन्त्रले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएकी छन्।
“राष्ट्रिय स्वतन्त्र पार्टी का सभापतिलाई प्रहरीले सुरक्षित रूपमा बाहिर निकाल्ने, तर त्यही दिन १० जना बन्दीहरू प्रहरीको गोलीबाट मारिने—यो कस्तो न्याय हो?” भन्ने प्रश्न उनले उठाएकी छन्।
जेन–जी आन्दोलनमा भएको जनधनको क्षति छानबिन गर्न गौरीबहादुर कार्की को अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक नगरिनु आगामी निर्वाचनको रणनीतिसँग जोडिएको दाबी पनि उनले गरेकी छन्। “गोली चलाउन लगाउने र सिंहदरबार जलाउन उक्साउने दुवै पक्षको सत्य बाहिर नआएसम्म जनताले चुनावमा सही मूल्याङ्कन गर्न सक्दैनन्,” उनको भनाइ छ।
सत्य लुकाएर गरिने निर्वाचन लोकतन्त्र नभई ‘व्यवस्थित भ्रम’ मात्र हुने दाबी गर्दै पाण्डेले अहिले बहसलाई ‘भदौ २३ कि २४’ भन्ने मितिगत विवादमा अल्झाएर मुख्य जिम्मेवारीबाट पन्छिने प्रयास भइरहेको आरोप लगाएकी छन्। उनले सर्वसाधारणको ज्यानप्रति राज्यको चरम बेवास्ता देखिएको बताउँदै निष्पक्ष छानबिन र सत्य सार्वजनिक गर्न माग गरेकी छन्।
