धादिङमा वस दुर्घटना : विदेशी सहित १७ जनाको मृत्यु, २७ घाइते
काठमाडौं । धादिङ बस दुर्घटनामा विदेशी नागरिकसहित १७ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रु बस गएराति करिब १ बजेतिर त्रिशूली नदी किनारमा खसेको हो। दुर्घटनामा ११ पुरुष र ६ महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकमध्ये एक पुरुष र एक महिला विदेशी नागरिक रहेको खुलेको छ। यद्यपि, मृतकहरूको पहिचान अहिलेसम्म सार्वजनिक गरिएको छैन। बसमा ४४ जना यात्रु सवार थिए। दुर्घटनामा घाइते भएका २७ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ।
दुर्घटनास्थलबाट सबै घाइतेहरूको उद्धार सम्पन्न भइसकेको छ। केही घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
मृतक र घाइतेको उद्धारमा जिल्लाका तीनै सुरक्षा निकाय तथा स्थानीयवासी खटिएका थिए। दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन।
उद्धार कार्यका लागि सशस्त्र प्रहरी बल को विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरीको कमाण्डमा टोली परिचालन गरिएको थियो। साथै विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली पनि उद्धारमा खटिएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरी ले जनाएको छ।
