अर्थतन्त्र चलायमान बनाउन सही सूचना प्रवाह अनिवार्य : अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना प्रवाह अनिवार्य रहेको बताएका छन् । ‘मिडियामा सूचनाको हकको प्रयोग : अभ्यास र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेपाल पत्रकार महासंघ र राष्ट्रिय सूचना आयोगले शुक्रबार काठमाडौंको तीनकुनेमा संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले भने, “अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना प्रवाह आवश्यक हुन्छ।”
समाजलाई शान्त, सभ्य र सौम्य राख्न सही सूचना सही समयमा सही उद्देश्यका लागि दिनुपर्ने उनको भनाइ थियो । एउटै सूचना कसैले दुई दिनमा र कसैले १५ दिनपछि पाउँदा ठूलो फरक पर्ने उल्लेख गर्दै उनले सूचनाको समयमै प्रवाह अत्यन्त महत्वपूर्ण रहेको बताए ।
“अर्थतन्त्रको सही विकासका लागि, हाम्रा क्रियाकलाप सही ढंगले सञ्चालन गर्न र समाजलाई शान्त, सभ्य र सौम्य राख्न सही सूचना सही समयमा सही कारणले दिनुपर्छ,” उनले भने ।
मन्त्री खनालले सूचनाको हक समाचार प्रयोजनभन्दा बाहिर स्वार्थ समूहले दुरुपयोग गर्ने गरेको गुनासो पनि गरे । अर्थ मन्त्रालयबाट मागिएका कतिपय सूचनाहरू पत्रकारिताभन्दा अन्य प्रयोजनका लागि प्रयोग हुने गरेको उनको भनाइ थियो ।
उनले भने, “अर्थ मन्त्रालयमा पत्रकारबाट औपचारिक रूपमा मागिने सूचनाहरू निकै कम छन्, किनभने अधिकांश सूचना वेबसाइटमै सार्वजनिक हुन्छन् । तर ती सूचनाहरू लिएर कतै अन्यत्र प्रयोग गर्ने गतिविधि देखिन्छ, जसबाट हामी सचेत हुनुपर्छ । सूचना अत्यन्त महत्वपूर्ण विषय हो।”
सूचनाको हक सरकारी क्षेत्रमा मात्र नभई व्यावसायिक तथा निजी क्षेत्रमा पनि लागू हुने उल्लेख गर्दै मन्त्री खनालले नागरिकसम्म सूचनाको हक प्रभावकारी रूपमा पुर्याउन प्रचार–प्रसार (एक्सप्लोर) गर्न आवश्यक रहेकोमा जोड दिए ।
