गोप्य कागजात फेसबुकमा सार्वजनिक गरेको आरोपमा रास्वपा कपिलवस्तुका नेता भट्टराई पक्राउ
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखीराम भट्टराई पक्राउ परेका छन्।
प्रहरी अनुसन्धानमा रहेका बैंक कारोबारसम्बन्धी कागजात सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।
बाणगंगा नगरपालिका–८ धनेषपुर निवासी भट्टराईले गत माघ २६ गते आफ्नो फेसबुक वालमार्फत ती कागजात सार्वजनिक गरेको प्रहरीले जनाएको छ। यस विषयमा उजुरी परेपछि मंगलबार उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहले जानकारी दिए।
उनका अनुसार सामाजिक सञ्जालमार्फत अनुसन्धानसँग सम्बन्धित सामग्री सार्वजनिक गर्दै घृणा र द्वेष फैलाउने तथा गोपनीयता उल्लङ्घन गरेको अभियोगमा भट्टराईलाई नियन्त्रणमा लिइएको हो।
‘फेसबुकमा अनुसन्धानसँग सम्बन्धित कागजात सार्वजनिक गर्ने, घृणा फैलाउने र गोपनीयता भंग गर्ने कार्य गरेको भन्ने उजुरी आएपछि पक्राउ गरिएको हो,’ डीएसपी सिंहले भने, ‘उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।’
