लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन वैशाख १६ र १७ गते आयोजना हुने

रूपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा आगामी वैशाख १६ र १७ गते तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ।

लुम्बिनी विकास कोषको बिहीबार बसेको परिषद् बैठकले लुम्बिनीको पर्यटन प्रवर्द्धन र पर्यटक आगमन बढाउने उद्देश्यसहित अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचार–प्रसारलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष अनिल कुमार सिन्हाको अध्यक्षतामा बसेको बैठकले सम्मेलनका लागि मूल आयोजक समिति गठन गरेको छ। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ) को संयोजकत्वमा १० सदस्यीय मूल समारोह समिति गठन गर्ने निर्णय गरिएको हो।

सरकारले चालु आर्थिक वर्षमा सम्मेलन आयोजनाका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यसअघि नोभेम्बरमा आयोजना गर्ने तयारी गरिएको सम्मेलन देशको राजनीतिक तथा संरचनात्मक परिवर्तनका कारण स्थगित भई २५७०औँ बुद्ध जयन्तीको अवसर पारेर आगामी वैशाख १६ र १७ गते (April 29–30, 2026) आयोजना गर्न लागिएको हो।

मूल समारोह समितिका संयोजक डा. लामाका अनुसार बुद्ध धर्म र दर्शनमार्फत विश्व शान्ति प्रवर्द्धन गर्नुका साथै दया, करुणा र विश्व बन्धुत्वको भावना विस्तार गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिँदैछ।

सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका बौद्ध विद्वान, गुरु, विशिष्ट पाहुना तथा विभिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। दुई दिने सम्मेलनमा बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु तथा बुद्धसँग सम्बन्धित क्षेत्रहरूको सम्पदा, लुम्बिनी क्षेत्रको वातावरणीय अवस्था, विश्व बौद्ध सम्पदा, बौद्ध शिक्षा तथा संस्कृतिसम्बन्धी विषयमा छलफल तथा कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ।

यसअघि आयोजना गरिएका पहिलो र दोस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले नेपालको धार्मिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको लुम्बिनी विकास कोषले जनाएको छ।