चुनावी गठबन्धन गर्दैनौँ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि पार्टीसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारेको छ।

बिहीबार प्रतिनिधिसभा निर्वाचनबारे आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले कांग्रेसले सबै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाइसकेको र चुनावपूर्व कुनै दलसँग गठबन्धन नगर्ने बताएका हुन्।

उनले भने, ‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गरेको छ। कुनै पार्टीसँग हाम्रो चुनाव लक्षित भेटघाट भएको छैन। चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा हाम्रो उम्मेदवार उठिसकेको छ। हामी दृढतापूर्वक प्रचार अभियानमा लागेका छौँ। सभापतिले पनि सार्वजनिक रूपमा यही कुरा बताइरहनुभएको छ, त्यसबाहेकका भ्रममा नपर्न आग्रह गर्छु।’

प्रवक्ता चालिसेले चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिनु नैतिकताको विषय नभएको धारणा पनि व्यक्त गरे।

उनले भने, ‘चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर जानु मानव अधिकारको विषय त हुन सक्छ, तर नैतिकताको विषय भने होइन। त्यो नहुनुपर्ने थियो, भयो। तर नागरिकले स्वतन्त्र, निर्भय र सुरक्षित वातावरणमा मतदान गर्न पाउनु सरकारको कर्तव्य हो, र सरकार त्यसतर्फ लाग्नुपर्छ।’

उनले अधिनायकवादी प्रवृत्ति भएका शक्तिहरू मीठा र चिप्ला भाषणमार्फत आउने गरेको भन्दै ‘नयाँ’ भन्नेहरूका भ्रममा नपर्न मतदातालाई आग्रहसमेत गरे।