सामाजिक सञ्जालबाट निर्वाचनको माहौल धमिल्याउने प्रयास हुनसक्छ : आयोग

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा प्रविधिको दुरुपयोग हुनसक्ने विषयमा निर्वाचन आयोग सचेत रहेको बताएका छन्।

उनले प्रविधिको दुरुपयोगका कारण निर्वाचन प्रक्रिया प्रभावित हुन सक्ने भएकाले आयोगले त्यस्ता सम्भावित गतिविधिको पहिचान गरिसकेको जानकारी दिए।

भण्डारीका अनुसार प्रविधिको दुरुपयोगले निर्वाचनलाई अवरोध गर्ने, बिथोल्ने र समग्र निर्वाचनको माहौल धमिल्याउने प्रयास विभिन्न तवरबाट हुनसक्छ।

निर्वाचनको नैतिकता कायम राख्न र भ्रामक प्रचार नियन्त्रण गर्न टिकटक र निर्वाचन आयोगबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भइसकेको छ। विश्वको ध्यान नेपालको निर्वाचनतर्फ केन्द्रित रहेकाले निर्वाचनलाई सहयोग पुर्‍याउन टिकटकको सहकार्य सराहनीय रहेको भण्डारीको भनाइ छ।

टिकटकका प्रतिनिधिले निर्वाचनको निष्पक्षता सुदृढ गर्ने तथा सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित वातावरण उपलब्ध गराउने लक्ष्यसहित सहकार्य गरिएको बताएका छन्।