भयरहित र निर्भिक रूपमा मतदान हुने वातावरण अझै बनेको छैन : एमाले

पार्टी तथा उम्मेदवारविरुद्ध भ्रम सिर्जना गर्नेलाई कानुनी दायरामा ल्याइने चेतावनी

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनका लागि भयरहित र निर्भिक रूपमा मतदान गर्न सक्ने वातावरण अझै निर्माण नभएको जनाएको छ।

एमाले केन्द्रीय निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले बुधबार जारी गरेको विज्ञप्तिमा निर्वाचनको अनुकूल वातावरण तयार पार्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्। विज्ञप्तिमा भनिएको छ, “भयरहित र निर्भिक भएर मतदान गर्न सक्ने वातावरण अझै तयार भएको छैन।”

सरकारले सुरक्षित र विश्वसनीय वातावरण बनाउन पर्याप्त पहल नगरेको आरोप लगाउँदै एमालेले प्रत्येक मतदाताले मतपेटिकासम्म सहज र सुरक्षित पहुँच पाउनु संवैधानिक अधिकार भएको उल्लेख गरेको छ। तर, हालसम्म सरकारले भरपर्दो र विश्वासिलो वातावरण बनाउन नसकेको र त्यसतर्फ गम्भीरता नदेखाएको एमालेको ठहर छ।

जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी तथा लुटिएका हातहतियारका कारण सुरक्षा चुनौती थपिएको एमालेले जनाएको छ। काठमाडौंसहित देशका विभिन्न स्थानमा भएका लुटपाटका घटनालाई उदाहरणका रूपमा उल्लेख गर्दै पार्टीले यसले समग्र सुरक्षा व्यवस्थामा गम्भीर असर पारेको जनाएको छ।

यस्तै एमालेले निर्वाचन आचारसंहिताको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ। विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता तथा शान्ति–सुरक्षामा खलल पुर्‍याउने अवाञ्छित गतिविधि, समुदायलाई उत्तेजित बनाउने भड्काउपूर्ण व्यवहार र प्रचारप्रसारको शैलीप्रति निगरानी बढाउन तथा स्थापित कानुनी मापदण्डअनुसार कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग नेकपा (एमाले) विनम्र अनुरोध गर्दछ।”

पार्टी तथा उम्मेदवारविरुद्ध भ्रम सिर्जना गर्नेलाई कानुनी दायरामा ल्याइने चेतावनी
नेकपा एमालेले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको भन्दै आपत्ति जनाएको छ। पार्टी तथा उम्मेदवारविरुद्ध प्रविधिको दुरुपयोग गरी भ्रम सिर्जना गर्ने कार्य भइरहेको उल्लेख गर्दै त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ।

प्रचार विभाग प्रमुख तथा आम निर्वाचनका पार्टी प्रेस संयोजक मीनबहादुर शाहीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, “प्रविधिको प्रयोग गैरजिम्मेवार र गैरराजनीतिक ढंगले भएकोप्रति हाम्रो पार्टीको विरोध छ। विभिन्न राजनीतिक दल, तिनका उम्मेदवार तथा पार्टीका निर्वाचन चिन्हबारे भ्रम फैलाउने उद्देश्यले कलाकारहरूको प्रयोग र प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गरिँदै आएको विषयप्रति नेकपा (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ।”

एमालेको निर्वाचन चिन्ह परिवर्तन गरिएको जस्ता भ्रामक प्रचार सामग्री तयार गरी प्रसारण गर्ने कलाकार वा जो–कोहीलाई पनि कानुनअनुसार कारबाही गरिने चेतावनी विज्ञप्तिमा दिइएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी गालीगलौज, अमर्यादित तथा असभ्य शब्द प्रयोग गर्दै व्यक्तिगत मर्यादा र स्वतन्त्रताको उल्लङ्घन हुने गरी सामाजिक सञ्जालमा सामग्री प्रसारण गरिएकोप्रति एमालेले आपत्ति जनाएको छ।