मादक पदार्थ सेवनपछि पत्नीको हत्या, पति आफैं प्रहरीमा उपस्थित

ललितपुर । मादक पदार्थ सेवन गरी पत्नीको हत्या गरेका एक व्यक्ति आफैं प्रहरी कार्यालयमा उपस्थित भएका छन्।

ललितपुरको गोदावरी नगरपालिका–७, देवीचौरमा बसोबास गर्दै आएका ३० वर्षीय विनोद पाख्रिनले २३ वर्षीया पत्नी कोपिला पाख्रिनको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त चापागाउँकी डीएसपी शीला चापागाईंका अनुसार पति–पत्नीले सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए। सोही क्रममा उनीहरूबीच विवाद भएको र विवादकै क्रममा पतिले पत्नीमाथि धारिलो हतियार प्रहार गरेका हुन्।

घटनापछि विनोद पाख्रिन आफैं टीकाभैरवस्थित प्रहरी प्रभागमा पुगेर आत्मसमर्पण गरेका थिए।

उनीहरूको दुई वर्षीया छोरी रहेको प्रहरीले जनाएको छ। अत्यधिक मादक पदार्थ सेवनका कारण घरायसी सम्बन्ध बिग्रिएपछि दुवै जना छुट्टै डेरामा बस्दै आएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।