नेकपाभित्र अधिनायकवादी शैली हावी भएको झलनाथ खनालको आरोप, गजुरेलमाथिको कारबाही स्थगित गर्न माग
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र संस्थागत निर्णय प्रक्रिया कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले सिन्धुलीमा बागी उम्मेदवारलाई साथ दिएको आरोपमा कारबाहीमा परेका नेता हरिबोल गजुरेलको पक्षमा धारणा सार्वजनिक गर्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीलाई संस्थागत बनाउन जोडदार अपिल गरेका छन् ।
खनालले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको स्टाटसमा आम निर्वाचन २०८२ नजिकिँदै गर्दा देशभित्र र बाहिरबाट प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र बढिरहेको उल्लेख गरेका छन् । यस्तो अवस्थामा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र सच्चा कम्युनिष्ट शक्तिहरूबीच नीतिनिष्ठ र दरो एकता आवश्यक रहेको उनको भनाइ छ ।
उनले एकीकरण घोषणा भएको लामो समय बितिसक्दा पनि पार्टीभित्र नेतृत्वदायी कमिटी गठन हुन नसकेको, संस्थागत निर्णय प्रक्रिया विकसित नभएको र एकाध व्यक्तिको इच्छाअनुसार ठूला निर्णय हुन थालेको आरोप लगाएका छन् । वरिष्ठ नेता हरिबोल गजुरेललाई स्पष्टीकरणको मौका नै नदिई पार्टीबाट निष्कासन गर्ने निर्णय हुनु गम्भीर र आश्चर्यजनक भएको खनालको टिप्पणी छ ।
खनालले यस्ता कारबाही तत्काल स्थगित गर्न, गजुरेलसहित नेतृत्व तहका नेताहरूको आकस्मिक बैठक बोलाउन र यस घटनाक्रमबारे पार्टीभित्र गम्भीर छलफल गर्न माग गरेका छन् । साथै उनले पार्टीमा अधिनायकवादी शैली होइन, सामूहिक निर्णय र सामूहिक नेतृत्व प्रणाली स्थापित गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
“अन्यथा, एकीकरण भइसके पनि पार्टी बिखण्डनतर्फ जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुनेछ,” खनालले चेतावनी दिएका छन् ।
सिन्धुलीमा बागी उम्मेदवारलाई साथ दिएको आरोपमा नेता हरिबोल गजुरेलमाथि गरिएको कारबाहीप्रति असन्तुष्टि जनाउँदै खनालले पार्टी संस्थागत रूपमा चल्नुपर्नेमा जोड दिएका हुन् ।
आज एक स्टाटस लेख्दै खनालले नेकपालाई सच्चा कम्युनिष्ट पार्टी बनाउने हो भने यस्ता निर्णयहरू पुनरावलोकन गर्नुपर्ने स्पष्ट पारेका छन् ।
