सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैन : गृहमन्त्री अर्याल
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने गतिविधिविरुद्ध कारबाही गर्न उच्च अधिकारी वा निकायको आदेश कुर्नु नपर्ने बताएका छन्।
आइतबार भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोको निरीक्षणका क्रममा उनले त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई कानुनविपरीत गतिविधि गर्ने जोसुकैलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्। उनले कानुनले निषेध गरेका काममा संलग्न हुने व्यक्तिविरुद्ध स्वप्रेरित रूपमा कदम चाल्न आग्रह गरे।
गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न साइबर ब्युरोलाई सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अमर्यादित, तथ्यहीन तथा भ्रामक सूचना र समाचारको सूक्ष्म निगरानी गर्न निर्देशन दिए।
‘मिथ्या सूचना प्रवाह गर्नेहरूलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्छ,’ उनले भने, ‘निर्वाचनलाई दृष्टिगत गरी साइबर ब्युरो अझ सक्रिय र सजग भएर काम गर्नुपर्छ।’
उनले सामाजिक सञ्जालको दुरुपयोग गरी जनमत प्रभावित पार्ने प्रयासलाई नियन्त्रण गर्न साइबर ब्युरोको भूमिका महत्त्वपूर्ण रहेको पनि उल्लेख गरे।
