सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरूलाई कारबाही गर्न नगर प्रहरी प्रमुखको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई कडाइका साथ कारबाही गर्न निर्देशन दिएका छन्।

बुधबार महानगर प्रहरी बल कार्यालयमा सम्पूर्ण सकल दर्जाका नगर प्रहरीलाई निर्देशन दिँदै उनले सार्वजनिक क्षेत्रभित्र धुम्रपान रोक्ने अभियान अपेक्षाअनुसार प्रभावकारी नदेखिएको उल्लेख गरे। सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरूलाई अनिवार्य रूपमा कारबाहीको दायरामा ल्याउन उनले स्पष्ट निर्देशन दिएका हुन्।

प्रमुख जोशीले काठमाडौं महानगरका चारै क्षेत्रबाट हुने कार्यसम्पादनमा कुनै गुनासो नआउने गरी जिम्मेवारी पूरा गर्न नगर प्रहरीलाई आग्रह गरे। उनले विशेषगरी फुटपाथ व्यवस्थापन र पार्किङ नियमनमा थप ध्यान दिनुपर्ने बताए।

यसअघि भएका राम्रा कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर महानगर प्रहरी बललाई अझ प्रभावकारी बनाइने उनले बताए। यसअघिका प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएपछि जोशीले महानगर प्रहरी बलको नेतृत्व सम्हालेका हुन्।