डा. संगीतासँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

काठमाडौं । स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव डा. संगीता मिश्रालाई विशेष अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पुर्पक्षका लागि धरौटी माग गर्दै पछि ठहरेबमोजिम हुने गरी आदेश जारी गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा गम्भीर अनियमितता भएको आरोप लगाउँदै तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले ठेक्का सम्झौताका शर्त विपरीत मिलेमतो गरी सम्पूर्ण सामग्री नआउँदै झुट्टा बिल–बिजक, गलत प्रतिवेदन तयार गरी भुक्तानी गरिएको दाबी गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा म्यामोग्राफी मेसिन खरिदका क्रममा लागत अनुमान तयार गर्ने चरणदेखि नै राष्ट्रसेवक कर्मचारी र ठेकेदारबीच मिलेमतो भएको भन्दै करिब १४ करोड रुपैयाँ बिगो माग दाबी गरिएको छ।