गुल्मीमा पुराना राजनीतिक हेभिवेट र नयाँ दलका उम्मेदवारबीचको वास्तविक परीक्षा
गुल्मी । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन गुल्मीमा यसपटक पुराना राजनीतिक हेभिवेट र नयाँ दलका उम्मेदवारबीचको वास्तविक परीक्षा बन्ने देखिएको छ। दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा मनोनयन दर्ता भइसकेसँगै प्रतिस्पर्धाको प्रारम्भिक चित्र स्पष्ट हुँदै गएको छ।
गुल्मी–१ मा कांग्रेसका डा. चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीबीचको परम्परागत प्रतिस्पर्धा फेरि दोहोरिने संकेत छ। दुवै नेता पटक–पटक निर्वाचित भइसकेका र पालैपालो जित्ने इतिहास भएका कारण यो क्षेत्र सधैं झिनो मतान्तरको मैदान मानिन्छ। यसमा नेकपाका सुदर्शन बरालको उम्मेदवारीले वाम मत विभाजनको सम्भावना बढाएको छ भने रास्वपाबाट सागर ढकालको प्रवेशले युवा र असन्तुष्ट मतदातालाई आकर्षित गर्न सक्ने आकलन गरिएको छ। यसले स्थापित दलहरूलाई नयाँ चुनौती थपेको देखिन्छ।
गुल्मी–२ मा एमालेका गोकर्ण बिष्ट अनुभवी र बलियो उम्मेदवारका रूपमा अगाडि छन्। कांग्रेसका भुवनप्रसाद श्रेष्ठ संगठनात्मक पकडका कारण प्रतिस्पर्धामा टिकेका छन्। यता, नेकपाका श्रीराम महत र रास्वपाका गोविन्द पन्थी नयाँ अनुहार भए पनि युवापंक्ति र परिवर्तन चाहने मतदातामाझ प्रभाव पार्ने प्रयासमा छन्। यस क्षेत्रमा पुराना नेताको प्रभाव कायम रहने कि नयाँ विकल्पतर्फ मतदाताको झुकाव बढ्ने भन्ने मुख्य प्रश्न देखिन्छ।
समग्रमा, गुल्मीका दुवै क्षेत्रमा अनुभवी नेताको राजनीतिक पकड र नयाँ दलको उभारबीच सीधा भिडन्त देखिएको छ। करिब २ लाख ३० हजार मतदाता रहेको जिल्लामा यो निर्वाचनले परम्परागत शक्ति सन्तुलन कायम राख्छ कि नयाँ राजनीतिक धारलाई बल दिन्छ भन्ने कुराको संकेत गर्नेछ।
