सहमति नजुटेपछि देउवा निवासबाट बाहिरिए गगन र विश्वप्रकाश

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच बुधबार बिहान भएको छलफल निष्कर्षविहीन रूपमा टुंगिएको छ।

देउवा निवास महाराजगञ्जमा करिब एक घण्टा चलेको वार्तामा सहमति हुन नसकेपछि दुवै महामन्त्री वार्तास्थलबाट बाहिरिएका हुन्।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार सभापति देउवा निर्वाचनमा टिकट वितरणका लागि हस्ताक्षरको अधिकार अरूलाई हस्तान्तरण गर्नसम्म तयार भए पनि महामन्त्रीद्वयले सभापति पद नै छाड्नुपर्ने अडान लिएपछि कुरा नमिलेको हो।

देउवाको भनाइ उद्धृत गर्दै महतले भने, “माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा मेरै हस्ताक्षरमा उम्मेदवारी दर्ता भएको छ। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा पनि सभापतिको हैसियतमा मैले नै हस्ताक्षर गरेको छु। अब प्रत्यक्षतर्फको निर्वाचनमा अर्का साथीलाई हस्ताक्षरको अधिकार दिन तयार छु, तर त्यसअघि कानुनी रूपमा स्पष्टता आवश्यक छ।”

छलफलका क्रममा देउवाले आगामी वैशाखमा हुने १५औँ महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने भएकाले अहिल्यै सभापति पद नछाड्ने अडान लिएका थिए। तर महामन्त्रीद्वय थापा र शर्माले तत्काल नेतृत्व हस्तान्तरण हुनुपर्ने माग राखेका थिए। यही विषयमा सहमति नजुट्दा वार्ता टुटेको बताइएको छ।

केन्द्रीय कार्यसमितिको बहुमतले १५औँ महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय नमानेर महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन आयोजना गरेपछि कांग्रेसभित्र विवाद चर्किएको हो।

पुस २७ देखि काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन २९ गतेदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको छ।