निर्वाचन आयोगप्रति विश्वास छ, बहुमत प्रतिनिधिबाट आएको परिणाम स्वीकारिन्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको निर्वाचन आयोगसहित राज्यका संवैधानिक निकायप्रति आफ्नो पूर्ण विश्वास रहेको बताएका छन्।

बुधबार आफूहरूमाथि कारबाही भएपछि काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले बहुमत महाधिवेशन प्रतिनिधिबाट विधिसम्मत रूपमा आएको निर्णयलाई निर्वाचन आयोगले स्वीकार गर्ने विश्वास व्यक्त गरे। उनले यसका पछाडि स्पष्ट कानुनी र संवैधानिक आधार रहेको दाबी गरे।

“मलाई नेपालको निर्वाचन आयोगप्रति विश्वास छ। नेपालको ऐन, नियम र कानुनप्रति विश्वास छ। नेपालको संविधान र सबै संवैधानिक संस्थाहरूप्रति विश्वास छ,” थापाले भने।
“नेपाली कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधि भेला भएर विधिसम्मत रूपमा गरिएको विशेष महाधिवेशनबाट आएको परिणामलाई निर्वाचन आयोगले सही ढंगले स्वीकार्छ भन्नेमा मेरो विश्वास छ, किनभने यसका वैधानिक र संवैधानिक कारण छन्,” उनले थपे।

थापाले सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठक वैधानिक नरहेको दाबीसमेत गरे। उनका अनुसार विशेष महाधिवेशन पक्षले यसअघि नै केन्द्रीय कार्यसमिति भंग गरिसकेको हुँदा उक्त बैठक बस्नै नसक्ने हो।

“आज सानेपामा बसेको भनिएको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयप्रति मेरो प्रतिक्रिया छैन, किनकि त्यो बैठक नै बस्न सक्दैन,” उनले भने, “केन्द्रीय कार्यसमिति अस्ति नै भंग भइसकेको छ।”