विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना छ : सभामुख घिमिरे
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुनसक्ने सम्भावना रहेको बताएका छन् ।
संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला मंगलबार झापा क्षेत्र नम्बर २ मा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना हुने सम्भावना रहेको धारणा व्यक्त गरे।
उनले संसद भंग गरेर संविधानलाई जबरजस्ती निर्धारित ‘लिक’ बाहिर पुर्याउने काम गरिएको आरोपसमेत दोहोर्याए। सभामुख घिमिरेका अनुसार संविधान र कानुनअनुसार आफूले आगामी फागुन ५ गतेसम्म पदीय जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेकाले सोही अनुसार अघि बढिरहेको छ।
उनले भने, ‘भदौ २७ गते राति करिब ११ बजेतिर संसद जबरजस्ती भंग गरिएको हो। यसले संविधानलाई लिक बाहिर पुर्याएको छ। तर सभामुखको संविधान र कानुनसम्मत कार्यकाल फागुन ५ गतेसम्म रहेकाले मैले सोही पदीय हैसियतमा जिम्मेवारी निर्वाह गरिरहेको हुँ। भोलि संसद पुनर्स्थापनाको पनि सम्भावना छ।’
सभामुख घिमिरेले पदीय जिम्मेवारीकै कारण आगामी निर्वाचनमा सहभागी हुने वा नहुने विषयमा अहिले नै कुनै निष्कर्षमा पुग्न नसकेको पनि स्पष्ट पारे।
