विशेष महाधिवेशनका निर्णय सबैले मान्नुपर्छ : देवराज चालिसे
काठमाडौँ । नेपाली कांग्रेसका नेता देवराज चालिसेले विशेष महाधिवेशनको बन्दसत्रबाट हुने निर्णय सबैले स्वीकार गर्नुपर्ने बताएका छन्।
कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चालिसेले कसैको दबाब वा प्रभावमा नपरी महाधिवेशन हलभित्रै स्वतन्त्र रूपमा निर्णय हुनुपर्ने बताए। उनले पार्टी सभापति शेरबहादुर देउवालाई विधानअनुसार विशेष महाधिवेशन बोलाउन आग्रह गर्दा नमानेपछि आफूहरू यो प्रक्रियामा अघि बढ्न बाध्य भएको स्पष्ट पारे ।
“अब विशेष महाधिवेशनले गर्ने निर्णय सबैले मान्नुपर्छ,” चालिसेले भने, “हलभित्र पसेपछि हुने निर्णय शेरबहादुर देउवाले मात्र होइन, वडाको सामान्य सदस्यले पनि मान्नुपर्छ।”
विशेष महाधिवेशनको माग गर्दै अभियान चलाउने कांग्रेस नेतामध्ये चालिसे पनि एक हुन्। उनले पार्टीलाई सुधार र सुदृढ बनाउन बाध्यकारी कदम चाल्नु परेको उल्लेख गरे।
