मंसिरमै झन्डै २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनामै करिब २ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स नेपाल भित्रिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार गत मंसिरमा १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ, जुन अघिल्लो महिना कात्तिकको तुलनामा करिब ५० अर्ब रुपैयाँले बढी हो। कात्तिक महिनामा १ खर्ब ३३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा (मंसिरसम्म) रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर ४.७ प्रतिशत मात्र रहेको थियो।

गत वर्ष मंसिर महिनामा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।

डलर आधारमा हेर्दा चालु आव मंसिरसम्म रेमिट्यान्स आप्रवाह २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड अमेरिकी डलर पुगेको छ। गत आवको सोही अवधिमा यस्तो वृद्धिदर ३.४ प्रतिशत मात्र थियो।

यस अवधिमा खुद द्वितीय आय ९ खर्ब ५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जबकि गत आवको सोही अवधिमा यस्तो आय ७ खर्ब ४३ करोड रुपैयाँ थियो।

यस्तै, चालु आव मंसिरसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७५ हजार ५ सय ९१ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९ सय २४ रहेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ३ सय ८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४ सय २५ रहेको थियो।