देश बनाउन दिमाग ठिक ठाउँमा भएको मान्छे चाहिन्छ, उन्माद र नशामा देश बन्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भत्काउने कामले मात्र देश निर्माण हुन नसक्ने बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले वर्तमान सरकारप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

हेटौंडामा सरकारले घर भत्काएको घटनाप्रति आपत्ति जनाउँदै ओलीले सरकारले जथाभाबी रूपमा भत्काउने काम गरिरहेको आरोप लगाए । उनले निर्वाचनको वातावरण बनाउनु पर्ने समयमा सरकार भत्काउने गतिविधिमा केन्द्रित भएको बताए ।

‘यो सरकारले के गर्‍यो ? हेटौंडामा घर भत्काउनु नै काम थियो ? चुनाव गराउनुपर्दैन ? चुनावको वातावरण बनाउनुपर्दैन ?’ ओलीले भने, ‘हेटौंडामा घर भत्कायो, आधा भत्कायो, आधा बाँकी राख्यो । भत्काउने बानी परेको छ । भत्काउनेको निर्देशनमा जे पनि भत्काउन थालिएको छ ।’

उनले सरकार, लोकतन्त्र, संविधान र सुकुम्बासी बस्तीसमेत भत्काउने काम भइरहेको भन्दै सरकारको आलोचना गरे ।

ओलीले देश निर्माणका लागि सही सोच र विवेक आवश्यक रहेको उल्लेख गरे ।
‘भत्काएर मात्रै देश बन्दैन, देश बनाउनुपर्छ,’ उनले भने, ‘देश बनाउन दिमाग ठिक ठाउँमा भएको मान्छे चाहिन्छ । उन्माद र नशामा देश बन्दैन ।’