कांग्रेसका सुनील थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित
विराटनगर । कोसी प्रदेशबाट नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनेका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
थापाको उम्मेदवारी परेको समूहमा अन्य कुनै पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीका अनुसार सम्बन्धित क्लस्टरबाट अरू कसैको उम्मेदवारी नपरेकाले थापा निर्विरोध निर्वाचित भएका छन् ।
यद्यपि औपचारिक घोषणा भने हुन बाँकी रहेको उनले बताए । एकल उम्मेदवारी परेको अवस्थामा थापा स्वतः निर्विरोध निर्वाचित हुने व्यवस्था रहेको छ ।
थापा केही समयअघिसम्म राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थिए । राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्न उनले उक्त पदबाट राजीनामा दिएका थिए ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल भएको छ । सहमतिअनुसार कांग्रेसले ९ र एमालेले ८ सिट लिएका छन् । त्यस्तै एक सिटमा महन्थ ठाकुरलाई दुवै दलले समर्थन गर्ने सहमति गरेका छन् ।
