वीरगञ्जमा लगाइएको कर्फ्यू हटाइयो
जनकपुरधाम । दुई धार्मिक समुदायबीच उत्पन्न तनावका कारण वीरगञ्जमा हिजो साँझ ६ बजेदेखि लागू गरिएको कर्फ्यू हटाइएको छ।
मंगलबार सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएपछि कर्फ्यू हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन्। यसअघि स्थानीय प्रशासनले आज साँझ ६ बजेसम्मका लागि कर्फ्यूको समय थप गरेको थियो।
प्रमुख जिल्ला अधिकारी दाहालद्वारा जारी सूचनामा सर्वदलीय/सर्वपक्षीय बैठकमा भएको सहमति, जिल्लाको शान्ति–सुरक्षा अवस्था क्रमशः सुदृढ हुँदै गएको तथा नागरिकको स्वतन्त्र आवागमन, व्यापार–व्यवसायलगायत गतिविधि सहज रूपमा सञ्चालन गर्न दिनुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै मिति २०८२।०९।२२ गते अपरान्ह ३:३० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश हटाइएको उल्लेख गरिएको छ।
