चीनको चेतावनीः अमेरिका अन्तर्राष्ट्रिय अराजकतर्फ अघि बढ्यो, मादुरोलाई तत्काल रिहा गर
बेइजिङ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको अमेरिकी कदमको चीनले कडा शब्दमा निन्दा गरेको छ। चीनले मादुरोलाई तत्काल रिहा गर्न माग गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको वडापत्रको गम्भीर उल्लंघन भनेको छ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले विदेश मन्त्रालयको वक्तव्य उद्धृत गर्दै भेनेजुएलाको शासन व्यवस्था कमजोर पार्ने प्रयास तुरुन्त रोक्न अमेरिकालाई चेतावनी दिएको छ। वक्तव्यमा भनिएको छ, “अन्तर्राष्ट्रिय नियम र कानुनलाई बेवास्ता गर्दै शक्तिको प्रयोग गरिए कुनै पनि सार्वभौम देश सुरक्षित रहँदैन।”
चीनको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी सैन्य कारबाही र राष्ट्रप्रमुखलाई नियन्त्रणमा लिने कार्यलाई खुला हस्तक्षेप र शक्तिको दुरुपयोगको संज्ञा दिएका छन्। शक्तिशाली देशले सैन्य र राजनीतिक बल प्रयोग गरी अर्को देशको निर्वाचित सरकार अपदस्थ गर्ने अभ्यास विश्वका साना र मध्यम राष्ट्रका लागि खतरनाक नजिर बन्ने चीनको चेतावनी छ।
“आज भेनेजुएला, भोलि अर्को कुनै देश—यही हो अन्तर्राष्ट्रिय अराजकतर्फको बाटो,” सिन्ह्वाले उल्लेख गरेको छ।
चीनले भेनेजुएलासँग दीर्घकालीन कूटनीतिक र आर्थिक सम्बन्ध रहेको स्मरण गराउँदै मादुरो सरकारलाई वैध सरकारका रूपमा मान्यता दिँदै आएको जनाएको छ। साथै, भेनेजुएलाको संकट समाधानका लागि संवाद, वार्ता र राजनीतिक प्रक्रियामार्फत अघि बढ्नुपर्ने चीनको अडान दोहोर्याइएको छ।
यसैबीच, अमेरिकी स्रोतहरूलाई उद्धृत गर्दै सार्वजनिक विवरणअनुसार राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिन लामो समयदेखि गुप्त रूपमा तयारी गरिएको थियो। गुप्तचर संकलन, साइबर आक्रमण र सैन्य कारबाहीमार्फत राजधानी काराकासमा अपरेसन सञ्चालन गरिएको बताइएको छ। सो कारबाहीका क्रममा हवाई प्रतिरक्षा प्रणाली लक्षित गरिएको र मानवीय क्षति भएको दाबी पनि गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त अपरेसन सफल भएको बताएका छन् भने भेनेजुएलामाथि थप कारबाही आवश्यक नपर्ने दाबी गरेका छन्। तर, आलोचकहरूले यस कदमले अन्तर्राष्ट्रिय कानुन उल्लंघन भएको र क्षेत्रीय अस्थिरता बढ्ने खतरा रहेको चेतावनी दिएका छन्।
